धर्मरत्न श्रेष्ठ
असोज २४ गते, संसदमा जे देखियो, सुनियो, त्यसबाट के निष्कर्ष निस्कन्छ भने जनताको स्तर जे छ, उसले त्यही स्तरको नेता पाउँछ। कुरो हो खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राई, नेपाली जनता दलका हरिचरण साह र दलित जनजाति पार्टी नेपालका यशोदाकुमारी लामा। यी तिनै पार्टीका सभासदले केपी ओलीलाई समर्थन गर्छु भनेर लेखेर दिए, जब रोष्टमबाट समर्थन गर्ने बेलामा नाम आयो, सुइकुच्चा ठोके। कांग्रेसका सभासद प्रदीप गिरी, बद्री पाण्डे र जीवन परियारले ढिलो आएर सुशील कोइरालालाई मतदान नै गरेनन्।
र सबैभन्दा डरलाग्दो तमासा देखाए– प्रचण्डको ३३ दलीय मोर्चा हुँदा प्रवक्ताको भूमिकासमेत निभाएका समाजवादी जनता पार्टीका नेता तथा सांसद प्रेमबहादुर सिंहले। गत माघ २१ गते ३३ दलीय मोर्चाले केपी ओलीलाई मानसिक सन्तुलन ठिक नभएकोले उपचार गराउन राज्यले आर्थिक सहयोग गरोस् भन्ने प्रस्तावक प्रेमबहादुरको प्रस्ताव पारित गरेर सार्वजनिक रुपमा टिप्पणी गरेको थियो। असोज २४ गते तिनै प्रचण्ड केपी ओलीका प्रस्तावक थिए भने प्रेमबहादुर सिंहले रोष्ट्रमबाट भने– केपी ओली 'राजनेता' हुन्। मलाई विश्वास छ, केपी ओलीले प्रधानमन्त्री र राजनेताको भूमिका सफलतापूर्वक निर्वाह गर्नुहुनेछ। विकास र समृद्धिका लागि भूमिका निभाउनु हुनेछ। स्वाभिमानी भएर बाँच्न चाहने नेपालीलाई केपी ओलीले उदाहरण पेश गर्नुपर्छ। यसकारण केपी ओलीलाई प्रधानमन्त्री पदमा सबैले मतदान गरौं, उहाँलाई बिजयी गराऔं। नेताहरुको स्वार्थले कसरी यूटर्न लिनेरहेछ। आश्चर्य छैन त?
प्रश्न उठेको छ– प्रचण्डको आदेशमा प्रेमबहादुर सिंहले केपी ओलीलाई पागल घोषणा गरेको ठिक थियो कि प्रचण्डकै सहयोगमा प्रेमबहादुर सिंहले ओलीलाई संसदमा उभिएर गरेको प्रशंसा? नेपाली राजनीतिको यही स्तरले हो देशको दुरावस्था भएको। हाम्रो राजनीति नितान्त व्यक्तिवादी र स्वार्थमूलक छ भन्ने प्रमाण हो यो प्रचण्ड, प्रेमबहादुर नियति।
यद्यपि प्रचण्डले पार्टी टुक्रा टुक्रा भए पनि संविधान घोषणा गराउने एउटा काम चाहिं सम्पन्न गरेका छन्। तर कांग्रेस र प्रेमबहादुरहरुले चलाएको पुङमांगे पार्टीले देशका लागि के गर्ला कुन्नी? नीति, नैतिकता र निष्ठा नभएपछि कुनबेला के बोल्ने, गालीगलौज गर्ने कि नगर्ने? फोहर र गोबरको छ्यानब्यान बाँकी रहेन है नेपाली राजनीतिमा।