Advertisement Banner
Advertisement Banner

१४ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

एकल महिलाको बच्चाको थर आमाकै थर हुने

२६ आइतबार , चैत्र २०७९३ बर्ष अगाडि

एकल महिलाबाट जन्मेको बच्चाको थर आमाकै थर कायम हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल आमाबाट जन्मेको थर मावलीको थर राखेर जन्मदर्ता लगायतका कागजपत्र बनाउने नियमलाई परिपत्र मार्फत सच्याएर आमाकै थर कायम हुने व्यवस्था गरेको हो । 

परिपत्र मार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको थर आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था गरेको बताइएको छ । गत चैत २३ गते विभागले स्थानीय तहका सबै वडालाई पठाएको परिपत्रमा एकल महिलाबाट जन्मेको बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत उक्त परिपत्र सच्याएर आमाको थर राखेर जन्मदर्ता गराउने परिपत्र कायम गरेको हो ।

आइतबार स्थानीय तहलाई पठाएको नयाँ परिपत्रमा अनुसार, ‘एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने' भनिएको छ । विभागले विवाहअघि बच्चा जन्माएकी एकल महिलाले पछि विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मदा आमाको थर राखी सोही स्थायी ठेगानामा जन्मदर्ता गर्न पनि परिपत्र गरेको छ ।

एकल महिलाको बच्चा मावलीमा बसेको अवस्थामा मावलीकै ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ । बच्चाको जन्मदर्ता भइसकेपछि बाबु पत्ता लागेमा पुरानो जन्मदर्ता रद्द गरी बाबुको ठेगाना वा आमा बाबु दुवैको थर राखी नयाँ जन्मदर्ता गर्न समेत विभागले परिपत्र गरेको छ । त्यस्तै कारागारमा बच्चा जन्मिएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिन पनि परिपत्रमा उल्लेख गरिएको छ ।

बाबुआमाको सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको जन्मदर्ता बाबुको स्थायी ठेगानामा नभएको भए आमाको स्थायी ठेगानामा जन्म दर्ता हुने विभागले बताएको छ । त्यस्तै नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भए कानुन बमोजिमको संरक्षक वा माथवरले दिएको ठेगाना, नाम थर राखी जन्मदर्ता गरिदिन समेत परिपत्रमा भनिएको छ ।