Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

ग्याँस आन्दोलन चर्क्यो

१६ सोमबार , कार्तिक २०७२१० बर्ष अगाडि

ठूलालाई खातैखात, आमनागरिकको पुर्पुरोमा हात। पेट्रोल, मटितेल, ग्याँस, डिजलको अभावले सिंगो मुलुक आन्दोलित हुनथालेको छ। प्रहरी आफै पेट्रोल कालोबजारी गर्ने, ग्यास कम्पनी ग्याँसको कालोबजारी गरिरहेका छन् भने मटितेल र डिजलको हाहाकार पनि उस्तै छ। आमनागरिक सबै काम छाडेर ग्याँसको सिलिण्डर बोकेर लाइनमा राखेर दिनभर कुर्छन् र साँझ रित्तै हात फर्कन बाध्य भइरहेका छन्। अति भो अव त। कतिपय दालमोठ र चिउरा खाएर दिन बिताइरहेका छन्। विरामी अस्पताल जान सकेका छैनन्, अस्पताल पुग्नेहरुले औखती किन्न पाइरहेका छैनन्। जनताको घरमा खाना पाक्न छाडेको छ। बालकहरुले खाने दूधको समेत हाहाकार भएको छ। स्कूल कलेज बन्द भइसकेका छन्। उद्योग धन्दा चल्ने सवालै भएन।

इन्धन नभएपछि, भारतीय नाकावन्दीले गर्नुसम्म गरिसक्यो। नेपाललाई असफल राष्ट्र बनाएरै छाड्नै भयो भारतको नाकावन्दीले। यति धेरै अन्याय खपेर पनि नेपाल सरकार भारतले नाकावन्दी गर्‍यो भनेर गुहार गर्न सक्दैन। डराई डराई चीनले आपातकालीन रुपमा दिएको पेट्रोल त ल्याउन सुरु गर्‍यो तर भारतले रिसाएर चीनले पेट्रोल दिएर समस्या समाधान हुन्छ र भनेर जिस्क्याउन थालेको छ। नेपाल सरकार विकल्प अपनाउने ताकत देखाइरहेको छैन। निकै फूर्ति लगाएर ग्लोबल टेण्डर आह्वान गरेको, त्यसमा समेत निर्णय गर्न सकेन। यस्तो लाछी सरकारले भारतसँग फूर्ति लगाएर के गर्न खोजेको हो? आमजनता भोकै मर्न तैयार छन्। जे छ, त्यसमा न्यायोचित वितरण गरेर भारतको हेपाह प्रवृत्ति विरुद्ध राजनीतिक दलहरुले हिम्मत गरेर मुकाविल गर्न खोज्ने हो भने जनताले साथ दिन्छन्। सरकार नै परालखुट्टे भएपछि जनताले मात्र गर्ने के? जनताको राष्ट्रवादमा कतै खोट छैन, खोट छ त नेताहरुको नैतिकतामा, तिनको विश्वसनीयतामा खोट। नेता नै दुईजिब्रे भइदिएपछि जनताले दुःख पाइरहेका छन्। साह्रै कष्ट उठाइरहेका छन्। जनता न यो सरकार र राजनीतिक पार्टीहरुविरुद्ध विद्रोह गर्न सकिरहेको छ, न अन्याय गर्ने प्रशासन र सुरक्षा निकायसँग कुस्ती खेल्न सकिरहेको छ? तैपनि सरकारले जनतालाई हेर्छ कि भन्ने आशा जनताको नजरमा देखिन्छ। तर सरकारमा विवेक पटक्कै देखिन्न। अरु केही दिन सरकारले ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा भरपर्दो व्यवस्था गरेन र अहिलेजस्तै आफूखुसी गर्‍यो भने जनताको धैर्यको बाँध फुट्नसक्ने खतरा छ। अहिले पहुँचवाला कसैको पनि चुलो निभेको छैन। कसैको पनि सवारी साधन रोकिएको छैन। कसैलाई पनि जरुरी काममा रोक लागेको छैन। समस्या छ त आमनागरिकलाई छ। उनीहरुको चुलो बल्न छाडिसक्यो। सवाल पेटको छ। भोकले ठूला ठूला क्रान्ति भएका छन्। त्यस्तै क्रान्तिको जग देखिन थालिसकेको छ। त्यस्तो क्रान्ति नहोस् भन्ने हो भने सरकारले जसरी पनि आपूर्ति प्रवन्ध मिलाउनै पर्छ। भारतको मुख ताकेरमात्र बस्न हुन्न, विकल्प त केरुङबाट खुल्यो, यस्ता अनेक विकल्प तमतैयार राख्नेतिर राज्यले अव विशेष रुपमा गम्भीर हुनैपर्छ।