Advertisement Banner
Advertisement Banner

२८ मंगलबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह

१३ शनिबार , जेठ २०८०२ बर्ष अगाडि

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छिन्। शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताएकी छिन् ।

त्यस अवसरमा उनले महिला सांसदहरूका लागि संघीय संसद् भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्नेसमेत बताइन्। उपसभामुख रानाले सबै विद्यालयहरूमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले महिलाहरूलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गरिन् । 

आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसको विरुद्ध महिलाहरूले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाइ थियो । उपसभामुख रानाले महिलाहरूको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंसा पनि गरिन् । एक्सपोज नेपालले हरेक वर्ष २८ मेका दिन राष्ट्रिय महिनावारी दिवस मनाउँदै आइरहेको छ । एक्सपोज नेपालले सन २०१५ देखि निरन्तर महिला हिंसा, यौन हिंसा, यौनिकता र महिनावारीलगायतका काममा सकृय रहँदै आएको छ । 

उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट आयोजना गरिएको साईकल र्यालीमा भक्तपुर साईकल कनेक्ट, काठमाडौं कोरालगायतका टिम गरी कुल तीन सय ५७ साईकलयात्री सहभागी भएका छन् । 
 
कार्यक्रममा एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालमा उत्पादित घरेलु प्याडलाई सरकारले प्राथमिकता दिनुपर्ने र ९० प्रतिशत केमिकलयुक्त प्याडलाई सरकारले प्राथमिकताको सूचिबाट हटाउनुपर्ने बताए । उनले सन २००७ देखि सुरू भएको एक्सपोज नेपालले २०१५ देखि सकृय रहेर हालसम्म आउँदा ७ हजार २ सय जनालाई घरेलु प्याड उत्पादन प्रशिक्षण सञ्चालन गरेको जानकारी दिए ।