रोशन कार्की
'नेपाल प्रहरी, सशस्त्र बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागको दिनहुँ बैठक चलिरहेको छ।' स्रोत भन्छ: सुराक त्यस्तै आइरहेको छ, स्थिति गम्भीर बनेकोले कसरी हैण्डलिङ गर्ने भनेर सुरक्षा निकायहरु सलबलाएका हुन्। चाहिएको छ संविधान, बढ्यो सुरक्षा सतर्कता। नेपाली जनताको गालामा झापड हाने नेताहरुले। एकदोस्राप्रति गाली गर्ने र मुठभेडका लागि तैयार हुन आफ्ना दोस्त, दलबल र सेनाबेनालाई निर्देशन दिने कार्य प्रारम्भ भइसकेको छ। खासगरी एमाओवादीका अध्यक्ष प्रचण्डले जुनसुकै स्थितिका लागि तैयार हुन खन्ना गार्भेन्टभित्र दिएको निर्देशनले सनसनी फैलिसकेको छ।
एमाओवादी संविधानसभाभित्रका पार्टनरहरुसँग खेल खेल्न छाडेर सडकका पार्टनरहरुसँग कुममा कुम जोडेर मैदानमा उत्रिने तैयारी गरेपछि नेपालमा यो के हुन लाग्यो भन्ने तीब्र उत्सुकता बढेको छ। विदेशीहरुको नेपाल आगमन र नेपालस्थित विदेशी राजदूतहरुको सक्रियता ह्वात्तै बढेको देखिन्छ। संविधान निर्माणमा देखिनुपर्ने सक्रियता जिरो, मुठभेडको चटारो देखेपछि राष्ट्रसंघसमेत हर्कतमा आइसकेको छ। सकिनै लागेको संक्रमण र स्थापित हुनै लागेको दिगो शान्ति प्रक्रिया भाँडिने त होइन भन्ने आशंका देश भित्र बाहिर फैलिन थाल्यो। गृह मन्त्रालयले माघ ८ को विशेष सुरक्षा योजना तैयार गरेको छ। नेपाल प्रहरी र सशस्त्र बलभित्र कसरी परिचालन हुने र सडक तात्दा कसरी चिसो पार्ने भन्ने विषयमा अनेक योजनाहरु बन्न थालेका छन्। नेपाली सेना सतर्क भइसकेको छ। विदामा गएकाहरुलाई बोलाइएको छ। जे पनि हुनसक्छ, जस्तोसुकै अवस्थालाई नियन्त्रण गर्न सुरक्षा निकाय तत्परताका साथ तैनाथ भइसकेको छ। खासगरी राष्ट्रिय अनुसन्धान विभाग कुना कुनामा खटिएर सूचना संकलनमा लागेका छन्। संविधान जारी भएर हर्षोल्लास हुने बेलामा यो के अनर्थ हुनलाग्यो। एमाओवादी संविधानसभामा प्रस्ताव नलाने, आएका प्रस्तावमा छलफल नगर्ने र संविधानसभाको रोष्टमबाटै 'सक्नुहुन्छ कन्ट्रोल गर्न?' भनेर धम्क्याउने काम गरिरहेका छन्। जातीय संघीयता र शासकीय स्वरुपको मुद्दाले पक्ष विपक्षमा बिभाजन भएका राजनीतिक दलहरु ध्रुविकरण हुँदै मुठभेडका लागि तत्पर भएका छन्। स्थिति यस्तो छ कि न सहमति हुन्छ, न प्रक्रिया जान सकिन्छ? हलो अड्क्यो, एमाओवादीको अहंकारले। बर्ग संघर्ष गर्ने कम्युनिष्ट कित्तालाई जातीय राज्य किन चाहिएको हो? यो बुझ्न नसकिने पहलु बनेको छ।
प्रचण्डको झण्डै २५ वर्षको नेतृत्व संकटमा देखिन्छ। उनको नेतृत्वलाई केही जातिवादीहरुले कहिलेसम्म थाम्न सक्लान्? किन प्रचण्ड जाति जाति भनेर भन्न बाध्य छन्? प्रचण्डजस्ता नेताले देश बोक्ने कि केही जातिवादलाई? कतै यही अदूरदर्शीपनले प्रचण्डको राजनीतिक जीवनमा फूलस्टप नलागोस्? त्यसै पनि राजधानीमा सामान्य नेताबाट हार खाएका प्रचण्डले आफूले पार्टीमा भित्र्याएका १ लाख २५ हजार कार्यकर्तालाई परिचालन गर्न नसक्दा एमाओवादीको हालत ज्यादै खस्ता छ। फेरि पनि मुलुकलाई बिभाजन गर्ने, बिखण्डन गर्ने एजेन्डा बोकेर हिडेका प्रचण्डले अर्को धोका खाने 'आत्महत्या'जस्तो अहं किन बोकिरहेका छन्। आम नेपालीले प्रचण्डलाई ठूला राजनेताका रुपमा हेर्न चाहेका छन्, तर प्रचण्ड जातिवादी संकुचित र साँघुरो नेता हुन खोजिरहेका छन्। यो दुःखद पक्ष हो।