Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नेताहरु बालुवाटारमा बालुवा निचोर्दै : राजन कार्की

०५ सोमबार , माघ २०७१११ बर्ष अगाडि

माघ ८ को साइतमा संविधान नआउने भयो। राष्ट्रको संविधान लेख्न बसेका ठूला दलहरु आ–आफ्नो स्वार्थअनुकूल संविधान बनाउने दाउपेचमा लाग्दा नयाँ नेपाल र नयाँ संविधानले हावा खानेभयो। परिवर्तनकारी शक्तिहरुको यो टीठलाग्दो दृश्यले गणतन्त्रलाई जिस्क्याइरहेछ। संविधान सबैले सम्मान गर्नसक्ने दस्तावेजका रुपमा आउँछ भनेर प्रतिक्षारत आमजनताको हात दोस्रो पटक खाली हुने दिन निकट भइसकेको छ। जनताको 'आश' निराश भयो भन्दा हुन्छ। जनमतमाथि ठूला दलहरुले पुनः अनादर गरेका छन्। जनादेशलाई धोका दिएका छन्। गर्ने यिनीहरुले नै हुन् तर यिनीहरुको मनोवृत्ति निकृष्ठ बन्यो, इच्छाशक्ति भएन र यिनीहरु राष्ट्रिय हितमा उभिन सकेनन्। यिनलाई यिनीहरुभित्र उम्लिरहेको स्वार्थ नै प्यारो भयो। र, माघ ८ को राजनीतिक लक्ष्य आर्यघाट पुग्यो।
जिउँदो संविधान आउनेछ, राष्ट्रिय जीवन जिवन्त बन्नेछ। यही जिवन्त वातावरणमा देशले प्रगतिको ढोका खोल्नेछ, सबैले शान्तिसँग बस्न र गरिखान पाउनेछन् भन्ने राष्ट्रिय अभिलाषा संविधानसभाको घुम्तीमा उत्तानो हुनपुग्यो। देश फेरि पनि लुटियो। न बालुवाको हलुवा खान मिल्छ, न बालुवा निचोरेर तेल निस्कन्छ। बालुवामा जति पानी हाले पनि न बालुवा भिज्छ। नयाँ संविधान निर्माणका लागि राजस्वको आरी खन्याएर पनि काम लागेन। यस्तै निरर्थक प्रयास भइरहेछ बालुवाटारमा। जनता सोझा भएकाले राजनीतिक नेताहरुले जनतामाथि गर्नुसम्मको अत्याचार गरे।
बहुपहिचानको ७ प्रदेश र जातीय पहिचानसहितको १० प्रदेशको सत्ता र विपक्षीको प्रस्ताव कुन ठिक अथवा यी दुवै प्रस्ताव मिलाएर सहमतिको कुनै अर्को रसायन सलुसन निकाल्न राजनीतिक दलहरु सफल भएनन्। यही असफलताको साइड इफेक्ट हो– संविधान चाहियो भन्ने जनताले पुस २९ गते राजधानी बन्दको कष्ट पाए। यस्ता बन्द हड्ताल देशव्यापी हुँदै गएका छन्। हेर्दै जानुछ, अरु के के हुने हो? नयाँ नेपालका नाममा हिमाल, पहाड र तराई जोडिनु हुन्न भन्ने नेपाल विरोधी भावना फैलिन थालेको छ। राष्ट्रिय पार्टी र नेपालका नेता हुँ भन्नेले भूगोललाई खण्डित गर्ने धारणा कसरी व्यक्त गर्नसक्छ? मधेसवादी पार्टी एक अथवा दुई मधेस मान्य छ, तर हिमाल र पहाड मधेसमा जोडिनु हुन्न भन्ने तर्क गर्छ। एमाओवादी हाँमा हाँ मिलाएर जातीय पहिचानको झ्याली पिट्छ। प्रदेश जतिसुकै बनाउ तर मुलुकको एक अंगलाई अर्को अंगसँग छुट्याउनु भनेको बिखण्डनवाद नै हो। त्यसमाथि जातिवाद लाद्नु घर जलाउनु हो। नेपालको भूगोलका लागि हिमाल, पहाड र तराई भनेको अभिन्न अंग हुन्, यिनलाई छुट्याउनु भनेको राष्ट्रिय एकता तोड्नु र मुलुकको बनोटलाई फोड्नु हो। यो तोडमरोड गर्ने अनुमति कुनै जनादेशले दिएको छैन। हिमाल, पहाड, तराई जोडिनु हुन्न र सबैले सिङ्गो नेपालको अनुभूति गर्न पाउनुपर्छ, संविधानमा त्यही लेखिनुपर्छ। नेपालको संविधान नेपालको भूबनोटविरुद्ध लेखिन सक्दैन। त्यस्तो दुस्साहस नरसंहार र मानवताविरोधी रक्तपिपासुहरुले मात्र गर्न सक्छन्। द्वन्द्व समाधान र शान्ति तथा प्रगतिका लागि लेखिने संविधान द्वन्द्वको उर्जा हुनुहुन्न।
सडकमा, अक्वुपाई वालुवाटारका नाममा, जाति, क्षेत्र, भेग, भाषा अथवा अन्य कुनै नाममा दबाबी प्रदर्शन हुनथालेका छन्। दबाब जति पनि दिन सकिन्छ तर राष्ट्रलाई कमजोर पार्ने दबाब कदापि स्वीकार हुनुहुन्न। राष्ट्रको मूल कानुन लेख्ने हो, राष्ट्रलाई कित्ताकाट गर्ने काम गर्ने छुट कसैलाई पनि छैन। तिमी प्रतिगमनकारी, हामी अग्रगमनकारी भन्दैमा कोही पनि ऐतिहासिक हुनसक्दैन। ऐतिहासिक हुन चाहनेले निहित स्वार्थमा रुमल्लिने बेला होइन यो। अधिकतम सहमतिबाट संविधान बनाउ कि प्रक्रियाबाट, संविधानमा राष्ट्र र राष्ट्रिय एकता मजबुत हुनुपर्छ। हामी कमजोर छौं तर अमेरिकीहरुसमेत मान्छन्– नेपालको ठूलो शक्ति भनेकै नेपाली एकता हो। यो एकता भत्काउन अनपेक्षित विदेशी चलखेल बढेर गएको छ। जटिलता थपिदैछ। जनतामा बढेर गएको वितृष्णालाई संवोधन गर्ने हो भने आफ्नै विवेक र बुद्धि, जनादेशको शक्तिले निर्णय गर्नुपर्छ। नेताहरु चुके, सुधि्रन चाहे जनताले दिएको मौका काफी छ। म देशको नेता हुू भन्ने हो भने अवसर नै अवसर छ।
प्रत्येक दिन घनिभूत छलफल गर्ने ठूला दलहरु झण्डै २ हजार दिनसम्म पनि सहमतिमा पुग्न सकेनन्। यो दृश्यपटका एक कलाकार हुन्, नेपाली कांग्रेसका शेरबहादुर देउवा। उनले पुस २९ मै नयाँ प्रस्ताव गरिदिए– अन्तरिम शव्द झिकेर अन्तरिम संविधानलाई जारिगरिदिउँ। नयाँ संविधानका सम्बन्धमा गल्लीका सान्चा पहलमानजसरी कति पाखुरा सुर्किरहनु। अन्तरिम झिकिदिएपछि खेल खत्तम। आवश्यक संशोधन दुई तिहाईले गर्दै गए भइहाल्यो। प्रधानमन्त्री माघ ८ मै संविधान जारी हुन्छ भनिरहेका छन्। एमालेका नेता झलनाथ खनाल संविधान निर्माण भइसक्यो भन्छन्, उपप्रधानमन्त्री वामदेव गौतम सभाध्यक्षले अनुमोदन गरेर राष्ट्रपतिबाट जारी हुनमात्र बाँकी छ भन्छन्। प्रतिपक्षी नेता प्रचण्डले त ३ प्रदेश पनि मान्य छ भनेको सुनियो। यो अवस्थामा एकाएक सभाध्यक्षले मलाई विशेषाधिकार दिए १० दिनमा संविधान तैयार गरिदिन्छु भनेर डिङ हाँके। सिंगो संविधानसभालाई माइनस गर्ने सभाध्यक्षको यो उपरलाउके बयानपछि कांग्रेस झस्कियो र भन्यो– सभामुख षडयन्त्र गर्दैछन्। यो उत्तेजनाको पछाडि को छ भनेर कांग्रेस आइग्लास लगाएर खोज्न थालेको छ। तर यी घटनाले स्पष्ट भयो– ठूला दलहरु संविधान निर्माणको सहमति खोज्दै होइन, सत्ताको खेल पो खेलिरहेका रहेछन्। अन्यथा तटस्थ सक्षम, जनादेशको बल भएको संविधानसभा असक्षम? सार्वभौम संविधानसभा नसक्ने, सभाध्यक्ष सक्ने? यो कसरी सम्भव हुनसक्छ?
र, सभामुखले प्रधानमन्त्री, उपप्रधानमन्त्रीदेखि झलनाथ खनालसम्मका दावीलाई बदर गर्दै फेरि मुख खोले– अव माघ ८ मा संविधान आउने सम्भाबना छैन। छैन भने, ठूला दलहरु भ्यागुताको धार्नी तमासा किन देखाइरहेछन्?
हाम्रो समाजमा एउटा उखान छ– दिनभरि याँली ब्याँली, जुनेली रात बिस्कुन सुकाई। माघ ८ नजिकिदै गर्दा उखानका उक्ति बन्दैछन् हाम्रा नेताहरु। पहिलो संविधानसभा जसरी जेठ १४ को नियतिमा समाप्त भयो, दोस्रो संविधानसभा यही माघ ८ मा समाप्त हुने त होइन? राजनीतिक दलहरुले जनतालाई माघ ८ को आश्वासन दिएका थिए र आफूलाई पनि त्यही लक्ष्मण रेखामा समाहित गरेका थिए, माघ ८ मा संविधान नआउने भएपछि यिनीहरुका सामु नैतिकहीन हुने कि राजीनामा दिने भन्ने यक्षप्रश्न त उठिसकेको छ। नङ्गा नाचे हजार दाउ भन्ने बनियामात्र हुन् यिनीहरु भने, लोकाचारहीनको ओखती छैन। कति नांगिएका हाम्रा नेताहरु?
पहिलो संविधानसभापछि कांग्रेस तेस्रो पार्टी बन्न पुगेको थियो। ७ वर्ष कांग्रेसले कष्ट भोग्यो। र, दोस्रो संविधानसभाको निर्वाचनबाट कांग्रेस मेजर पार्टी बन्यो र एमालेसँग हातेमालो गरेर सत्ताको बागडोर सम्हाल्न पुगेको हो। कांग्रेसका लागि संविधान घोषणा गर्ने यो सुवर्ण मौका थियो तर कांग्रेस चुक्यो। दुई तिहाई समर्थन भएर पनि कांग्रेसले खुट्टा कमायो र संविधान जारी गर्ने निर्णय लिन सकेन। माघ ८ पछि अर्कै दिन आउनेवाला छ। सत्ता निर्माण गर्ने बेलामा नै एकवर्षपछि एमालेलाई सत्ता हस्तान्तरण गर्ने तमसुक गरेको सुशील सरकारले माघ ८ पछि राजीनामा दिएर केपी ओलीका लागि कुर्शी खाली गर्नुपर्नेछ। शेखर कोइरालामार्फत संविधान घोषणा गर्न केही समय थप्ने र थप समय सुशील सरकार नै कायम गर्दा के फरक पर्छ र? भन्ने सुशील वाणीलाई एमालेले रौं बराबर पनि सम्झेको छैन। एमाले सरकारको नेतृत्व गर्न यसरी उत्ताउलो बनेको छ कि उसले संविधान निर्माणमा अझै कुनै सम्भाबना छ कि भनेर खोज्नसमेत छाडेको छ। माघ ८ को सत्ता परिवर्तन चक्र घुम्न थालिसकेको छ। कांग्रेस हच्किनु र माओवादी–मधेसवादी बिच्किनुको समय चक्रले संविधान निर्माणका नाममा कस्तो कस्तो 'रामलीला' देखाउने हो, त्यो हेर्न जनता तैयार भए हुन्छ। किनकि जनता भनेका मतदान गर्ने बस्तुमात्र बने। नेता भनेका 'जित्नी चावी भरी राम ने...उत्नी चली खिलौना'मात्र भए, काम केही नगर्ने, त्यहाँभन्दा बढी नाच्ने भएनन्।
निष्कर्षमा महर्षी बेदव्यासको एउटा कथन– १८ पुराण पढेर मलाई ज्ञान भयो, अरुलाई दुःख दिनु पाप हो। हाम्रा नेताहरुलाई दुई दुई पटक संविधानसभाको निर्वाचनमा सहभागी भएर जनताले संविधान निर्माण गर्ने सभामा पुर्‍याए, यिनले एकथान संविधान दिन नसक्नु भनेको नालायकी नै हो, अझै यिनीहरुमा हामी नालायक हौं भन्ने शरम छैन, अन्तरज्ञान भएन।
त्यसै चाणक्यले भनेका होइन रहेछन्– सर्पको दाँतमा विष हुन्छ, झिंगाको सिरमा विष हुन्छ तर दुष्टको अंग प्रत्यंगमा विष हुन्छ। हाम्रा राजनीतिक नेताहरु मुलुकका लागि विष वृक्ष नै रहेछन् भन्ने घटनाक्रमले प्रमाणित गरिसक्यो। अझै पनि यिनीहरु जनयुद्ध, जनआन्दोलन र राजनीतिक उग्र भाषण छाट्न छाड्दैनन्। लज्जाहीनता भनेको यही हो। र, माघ ४ गते राप्रपा नेपालले संविधानसभा घेर्ने कार्यक्रम गर्‍यो। सभाध्यक्ष सुवास नेम्वाङले नै पत्रकारका सामु माघ ८ मा संविधान आउँदैन भनिसकेपछि घेराउले के प्रभाव पार्न सक्थ्यो र? घेराउ भयो, सकियो।