Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सशांक समाधान खोज्दै अमेरिकामा

०७ सोमबार , मंसिर २०७२१० बर्ष अगाडि

रोशन कार्की :
वीपीपुत्र सशांक कोइराला नेपालको संविधानको चुनौती र अवसर खोज्न अमेरिकातिर लागेका छन्। नोभेम्बर २८ अर्थात मंसिर १२ गते सशांक कोइरालाले अमेरिकाको टेक्सासको डलासमा बृहद छलफलमा सहभागी हुनेछन् र उनले संविधानको अवसर र चुनौतीबारे महत्वपूर्ण अभिव्यक्ति दिनेछन्।
संविधान जारी भएपछि नेपालमा मधेशी मोर्चाले आन्दोलन छेडेको छ। भारतले नाकावन्दी लगाएर नेपालको आर्थिक गतिविधि ठप्पै पारिदिएको छ। न स्कूल चलेका छन्, न उद्योग। अस्पतालसमेत बन्द हुनथालेका छन् र उपचार नपाएर बिरामीले ज्यान जोगाउन नसक्ने संकट खडा भइसक्यो। यो समस्यालाई कसरी टार्ने, राजनीतिक अक्किल निकालेर असफल हुन थालिसकेको संविधानको कार्यान्वयनलाई सफल पार्ने भूमिका निर्वाह गर्न छाडेर वीपीपुत्र सशांक कोइराला अमेरिकी यात्रामा जानु र चुनौती र अवसरका बारेमा छलफल गर्नु भनेको 'सबै छाडी पुच्छरमा हात' भनेजस्तो भएन र?
समस्या संविधानलाई कसरी जनताले अपनत्व ग्रहण गर्न सक्छन् भन्ने रहेको छ। जारी संविधानलाई अझै आमनागरिकले अपनत्व ग्रहण गरिसकेका छैनन्। जनताका लागि संविधानभन्दा ग्यास, मटितेल, डिजल, पेट्रोलको महत्व बढी देखिन्छ। जनता सुशासन खोजिरहेका छन् र कानुनव्यवस्था चाहिरहेका छन्। लोकतान्त्रिक संविधानले केही पनि दिनसकेको स्थिति छैन। भूकम्पले ७ खर्ब नोक्सानी गरेर गयो, यसको दोब्बर खती सय दिनको मधेश आन्दोलन र दुई महिने भारतीय नाकावन्दीले पारिसकेको छ। देशवासीले रोजगारीसमेत गुमाउन पुगेका छन्। भोकभोकै छन्। यो स्थितिसँग जुध्न देशमै बसेर मुख्य भूमिका निर्वाह गर्नुपर्ने कांग्रेसका कोइरालाहरु कि त देशमै अन्यमनस्क तमासा हेरिरहेका छन्, कि अमेरिका र अन्य देशमा पुगेर गफ चुटिरहेका छन्। यिनलाई नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो र ठूलो दलको मुख्य भूमिका भनेको संविधानलाई जनताको जीवनयापनमा घुलमिल गराइदिनु हो भन्ने बिर्सेको अवस्था देखिदैछ।
अमेरिकामा संविधानको गफ चुटेर काम छैन। विदेशमा रहेका एनआरएनले नेपालमा लगानी गरुन् भन्ने भाषण गर्ने बेला पनि होइन यो। नेपालप्रति दायित्व बोध गर्नेहरुले गरिसके, गर्नेछन्। तिनको दोहोरो नागरिकताको माग पूरा भइसककेो छ। यतिबेला नेपालको आवश्यकता संविधानको कार्यान्वयनको हो। संविधान कार्यान्वयन हुनका लागि ठूला दलहरु एक हुनुपर्छ, असन्तुष्टहरुलाई आश्वस्त पारेर आन्दोलन तोड्न र भारतीय नाकावन्दीलाई हटाउन सक्नुपर्छ। भारत किन रिसायो, भारत र नेपालको सम्बन्ध किन बिग्रियो, यसका कारण के के हुन्? रौंचिरा अध्ययन र विश्लेषण गरेर सम्बन्ध पुनस्थापित गर्नेतिर नलागेर संविधानको धक्कु लगाएर हिडेर नेपाल र नेपालीको जीवन सहज बन्न सक्दैन। न त यतिखेर लगानी भित्र्याउने गफ चुटेर नै केही हुन्छ। नेपालको अराजक बन्दै गएको आन्दोलनले भएको लगानी असुरक्षित भइसक्यो, आउने लगानी रोकिन थालिसक्यो र भएका लगानी बाहिरिने तरखर गर्न थालिसके। यसकारण कांग्रेसजस्तो पार्टीले प्रजातन्त्र मजबुत पार्न विदेश सयर गर्ने होइन, नेपालभित्रै बसेर अन्य राजनीतिक दलहरुसँगको सहकार्यमा मुलुकको बिग्रदै गएका कडीहरु जोड्नु पहिलो काम हुनुपर्छ। भूकम्प पीडितहरु अहिले पनि च्यातिएको पालमा छन्। तिनले खोले खान पाएका छैनन्। कसरी तिनको हित हुन्छ? त्यो काम सत्ताधारीकोमात्र होइन, सबै राजनीतिक दलहरुको पनि हो। कांग्रेस अझ संवेदनशील बन्नुपर्छ।
सुशील कोइरालापछि नेपाली कांग्रेसको उत्तराधिकारी बन्ने व्यक्ति भनेर प्रचारित सशांक कोइराला यसरी विदेश सयर गरेर समय खेर फाल्छन् भने यिनले पनि कांग्रेसलाई वीपी कोइरालाजस्तो जिम्मेवारपूर्ण नेतृत्व दिनसक्छन् भन्ने आश नगर्दा हुनेभयो। त्यसै पनि सुशील बृद्ध भए, सुजाता र शेखर कोइरालाको काँट अझै तल छ। बाँकी सशांक नै हुन्। सशांक कोइराला पनि गलत मार्गतिर लाग्छन् र जिम्मेवारबोध गर्दैनन् भने नेपाल वामपन्थीमय भयो भन्दा गलत होला र?