Advertisement Banner
Advertisement Banner

१४ सोमबार, जेठ २०८१17th April 2024, 11:33:48 am

Image

धार्मिक र जातीयद्वन्द्वमा फस्यो मुलुक

शाश्वत शर्मा

१२ मंगलबार , भाद्र २०८०९ महिना अगाडि

धार्मिक र जातीयद्वन्द्वमा फस्यो मुलुक

लोकतन्त्र लोकतन्त्र भन्दाभन्दै मुलुक सकियो । धरानमा सल्केको डढेलो, निषेधाज्ञा, सद्भावना ¥याली आदि मत्थर भएको छ तर यसको झिल्काले मुलुक सल्किनसक्ने खतरा छ । बहुजातीय मुलुकको सद्भाव शत्रुतामा परिणत भइसक्यो । हुन त माओवादीले पहिचानका आधारमा संघको नामाकरण गर्ने कार्यको उद्घोष भएदेखि नै नेपालभरि मन्दविष फैलिदै गएको हो । कोशी प्रदेशको नामाकरण विवाद, धरान १४ सिंहदेवी चोक छेउमै रहेको हिन्दु र किराँतीको आस्थाको बालगोपालको मन्दिरअगाडि चर्च निर्माण गर्न दिएपछि जाति जातिवीचको विवाद बढ्दै गएको हो । गत साउन ९ गते धरानका राजन परियार र धरानकै विन्द्रा राईलाई गोरू काटेर रमाइलो गर्दागर्दै गिरफ्तार गरिएपछि सत्ताधारी र इसाई समूहकै अत्यधिक दबाबमा उनीहरू धरौटीमा रिहा त भए तर पहिचानवादीले ती दुबैलाई सम्मान गरेर फेरि गोरूको मासुको भोज लगाइयो र संविधान र सद्भावमाथि नै धावा बोलिएपछि हिन्दुवादी भर्सेज पहिचानवादीवीचको विवाद उत्सर्गमा पुग्यो । दुबैथरिले भदौ ९ गते आआफ्ना किसिमले सभा गर्ने भनेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा नै लगायो । त्यस दिन धार्मिक बिबाद रक्तपातमा परिणत हुने खतरा देखिएको थियो । अनेक नेता र पार्टीले सद्भाव कायम राख्न विज्ञप्ति निकाले । सद्भाव जुलुस निस्क्यो । धन्न अर्को कैलाली घटना घट्नबाट रोकियो । सतहमा हर्क साम्पाङ, आङ्काजी देखिए पनि यसमा जातीय द्वन्द्व भड्काउनका लागि माओवादी पहिचानवादी जिम्मेवार छन् ।
गरीब मुलुक, चेतको कमी, यसमाथि पार्टीको दबदबा र विदेशी पैसा मिसियो भने जातीय आगो बल्न धेरै समय लाग्दैन । कस्तो मुलुक, कस्तो बनाइदिए ?
पहिले सत्ता झगडा देखिन्थ्यो, अब जातीय झगडा देखियो । धार्मिक लडाइँको श्रीगणेश भयो । भूराजनीतिका कारणले यो झगडा सम्हाल्न गाह्रो छ । जोडिएका छिमेकीको झगडा चर्काउन, इसाईको झण्डा फहराउनृ ठूलो षडयन्त्र भइरहेको छ । यो आगो धरानबाट अन्यत्र सर्दैजाने खतरा सन्निकट छ । गाईगोरू काटेर खाने र विभिन्न सामाजिक सञ्जालबाट व्यापक प्रचार हुनुबाट बुझ्न सकिन्छ– हिन्दुवादीहरूलाई उत्तेजित पारिदैछ । बगे नेपालीको रगत बग्ने, लाभ अरूलाई हुने । जनयुद्धकालमा धर्मविरूद्धमा जे गरियो, त्यसैको बिस्तारित रूप हो यो । कसैले भनेका थिए– जनयुद्ध अघि अघि बाइबल पछि पछि । त्यही नजारा अहिले देखिएको छ । गाई गोरू खानेलाई पश्चिमाबाट डलर आउला, काट्नुहुन्न, हिन्दुको आस्थामाथि खेलबाड नगरौं भन्नेलाई दक्षिणबाट भारू आउला । जेहोस्, संकटमा नेपाली पर्छन् ।
एकातिर राष्ट्रघात, भ्रष्टाचार, बेथिती, मनलागी, त्यसमाथि जातीय द्वन्द्व । नेपालीको पलायन बढ्नेछ, विदेशीको घुइँचो नेपालमा देखिने छ । यथार्थमा सदियौंदेखि मिलेर बसेका नेपालीले यो चर्को विवाद सुरू गरेकै होइनन् । विदेशी दानदातव्यमा सुरू भएको हो । यस्तो विवाद स्थायी रूपमै जरो गाड्ने खतरा छ । नेपालीले चीरकालसम्म भोग्नुपर्ने झगडा हो यो । आज नगर क्षेत्रमा देखियो, भोलि सहर हुँदै गाउँ, टोलटोलामा यस्तै विवाद उठ्ने छ । नेपालबाट संघीयता र धर्मनिरपेक्षता संविधानबाटै खारेज हुनुपर्छ भनेर उठेको आवाज र नेपालमा अस्थिरता चाहने तत्वले यो बबण्डर सुरूआत भएको छ । हुन पनि संघीयता नै खारेज गरिदिए र धर्मनिरपेक्षता खारेज गरिदिए धार्मिक र नैतिक विकृति घट्ने थियो । होला, पहिले पहिले ससाना बादबिबाद उठ्ने, साम्य हुन्थे । यतिबेला गाई गोरू काटेर एकदोस्रालाई उक्साउने, उत्तेजित पार्ने योजनाबद्ध प्रचारबाजी कहिले भएको थिएन । यो विद्वेषको आगो सल्कियो, डढेलो लाग्यो भने छिमेकीलाई पनि यसको राप र तापले प्रभाव पार्नेछ । सिद्धान्त र विचारले जो जे हुन्, सबैले आआफ्ना विचार आफैमा सिमित राखेर एकअर्काप्रति सम्मानभाव राख्ने, अर्काको आस्थामा खलल नपार्ने, एक अर्काको धर्मलाई सम्मान गर्ने काम हुनुपथ्र्यो, तर विकृतिलाई बढाइयो । यसरी प्रायोजित द्वन्द्व बढाउनु राष्ट्रलाई बिघटनतिर लानु हो । अराष्ट्रिय र असामाजिक कार्य हो । यस्तो व्यवस्थालाई च्यापिराख्ने कि विकल्प सोच्ने ? देशका लागि बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रभन्दा उपयुक्त अरू व्यवस्था हुनैसक्दैन । यसको छिनोफानो गर्न जति अबेर भयो, रक्तपातको खतरा बढ्नेछ । नेपाली नेपाली मिल्ने हो लड्ने होइन ।