Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुजाताको सनसनीपूर्ण अभिव्यक्ति

१४ सोमबार , मंसिर २०७२१० बर्ष अगाडि

रोशन कार्की
परराष्ट्र मन्त्रीसमेत बनिसकेकी सुजाता कोइराला कांग्रेसकी नेतमात्र होइनन्, नेपाली कांग्रेसको विदेश विभाग प्रमुख पनि हुन्। उनले त कम्तिमा कूटनीतिक मर्यादा बुझ्नुपर्थ्यो। उनलेसमेत भारतलाई गाली गरिन्। मधेसी मोर्चाका पार्टीहरुलाई भारतीय कुत्ता भनिन्। सबैलाई थाहा छ: मधेस आन्दोलन भारतको समर्थनमा भइरहेको छ। त्यो आन्दोलनलाई कसरी रोक्ने र भारतसँग कसरी सम्बन्ध सुधार गर्ने, यतातिर परराष्ट्र मन्त्री भइसकेका व्यक्तिको मरमद्दत नहुनु र समस्यालाई चर्काउन धमिलो पानीलाई अझ हुँडल्नुले समस्या दिनदिनै बल्भि्कदै गएको छ। नेपालको अर्थराजनीति संकटपूर्ण बनिसकेको छ। सबैलाई थाहा छ: भारतको विकल्प भारत नै हो। छिमेकी सम्बन्धको अर्को विकल्प खौज्नसक्ने ताकत नेपालसँग छैन। यो यथार्थ बुझेर पनि बुझपचाउन मिल्छ?
मधेसीले केही पनि पाउँदैनन्, सिमांकन हेरफेर हुन्न भनेर सुजाता कोइराला चर्केकी छिन्। उनले कांग्रेस एमालेको आन्दोलन उठ्न त चार वर्ष लाग्यो, मधेसी आन्दोलन भयो भन्ने मलाई विश्वास लाग्दैन, भारतको समर्थनबिना यसरी मधेसी आन्दोलन उठ्नै सक्देन भनेर तिक्कता पोखेकी छिन्। मधेसी आन्दोलन हिंसायुक्त मात्र होइन, छापामार शैलीमा प्रवेश गरिसकेको छ। राज्यले सेना परिचालन कालागि तमतैयारी सुरु गरिसक्यो। तैपनि सुजाता कोइरालाको बयानले मधेस आन्दोलित नै छैन, नेपालमा केही पनि भएको छैन भन्नेजस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु उचित मानिएको छैन। नेपालमा मानवीय संकट देखिसक्यो भनेर विश्वले चिन्ता प्रकट गरेको नेपाली कांग्रेसलाई थाहै छैन कि के हो?
हो, भारतको समर्थन छ। भारतकै गृहमन्त्रीले एक करोड भारतीय नेपालमा छन्, भारतको सरोकार छ भनिसकेको स्थिति हो। भारतीय सशस्त्र बलले सुनसरीमा पसेर चार नेपालीलाई (अशोक, नरेश, सरोज र मनोज) गोली ठोके। यसमा छानबिन सुरु भइसकेको छ। आइतवारमात्र १३ जना सशस्त्र प्रहरी बल झापा, केचनामा प्रवेश गरे, नेपाली सुरक्षाकर्मीले पक्राउ गरे। अर्थात भारतका सुरक्षाकर्मी नेपालभित्र प्रवेश गर्ने र सीमामा नेपालीलाई लुट्ने प्रवृत्ति झन झन बढेर गएको छ। यी सबै क्रियाकलाप नेपाल–भारत सम्बन्धमा चिसोपन बढेर भएको हो।
हामी बाध्य छों, १८ सय ८ किलोमिटर सीमा खुला छ। यो सीमालाई नियमन र निगरानी गर्ने वा काँडेतार लगाउने हैसियत नेपालको छैन। भारतले ३ प्रतिशत जनतालाई नेपाल पठाइदियो भने त्यो संख्या नेपालको जनसंख्याभन्दा बढी हुन्छ। त्यसै पनि नेपालमा ६० लाखभन्दा बढी भारतीयले मधेसे नेपालीको नाममा नागरिकता लिइसकेका छन्। नेपालले यो यथार्थ बुझेर नेपालीत्वको जगेर्नाका लागि गालीगलौजको होइन, बुद्धिमत्तापूर्ण कूटनीतिक क्षमता देखाउनुपर्छ। वार्ता र सहमति बिना नेपालको आर्थिक विकास हुनसक्दैन। इन्धनको आपूर्तिमात्र समस्याको समाधान होइन, समष्ठि रुपमा नेपाललाई भारतले यसैगरी दुःख दिने हो भने नेपाल तन्नमहरिका रुपमा बिनासको मार्गतिर लाग्नेछ। यसकारण नेताहरुले राजनीतिक र कूटनीतिक रणनीति बनाएर तत्काल सम्बन्ध सुधारमा लागिहाल्ने बेश हुनेछ। यो बेला विश्वले नेपाललाई समर्थन गरेको बेला पनि हो भन्ने हेक्का राखौं। संघीयताले हामीलाई टुक्य्राएको छ। हामीलाई बिभाजन गरेको छ। मानसिक रुपमा हामी हामीवीच द्वन्द्व बढाएको छ। नयाँ नेपाल यसरी बन्न सक्दैन। नयाँ नेपाल बनाउने हो भने नेपाली नेपालीवीच एकता पहिलो सर्त हो। यो एकता सुजाता कोइरालाले गाली गरेजस्तो व्यवहारले कायम हुनसक्दैन। सुजातालाई त के छ र, नेपाल नभए जर्मन जालिन्। उनी पहिले पनि जर्मनमै बसेकी हुन्। नेपाली जनताका लागि नेपाल नै पहिचान र सवैथोक हो।