Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

मुलुक सम्हाल्ने हुती छैन, फिर्ता गर

१४ सोमबार , मंसिर २०७२१० बर्ष अगाडि

स्वयम्भूनाथ कार्की, विराटनगर
'सात राजनैतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्वलगायत समग्र समस्याहरूको समाधान गर्न तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको प्रतिनिधिसभालाई यसै घोषणामार्फत पुनर्स्थापित गरिबक्सेका छौं'। यो राजाको घोषणाको अंश हो जस मार्फत उनले मुलुकको हित गर्ने संकल्प देखाएर सातदलले गरेको १९ दिने आन्दोलनलाई मुलुक बुझाएका थिए। वर्तमान यो घोषणा भएको दशौं बर्षको मध्यमा आईपुगेको छ। भर्खरै सरकारले आर्थिक श्वेतपत्र जारी गरेको छ। यसलाई दलहरुले निरंकुश शासन चलाएको दश बर्षको प्रगतिको झलक मान्न सकिन्छ।
'सात राजनैतिक दलको गठबन्धन' र त्यसका पक्षका दलहरु वा समुहहरुको निर्वाध हालीमुहाली रहेको यो कालखण्डमा सर्वसाधारण जनताको वेहाल भएको छ। जनताको यस्तो हविगत त औपनिवेशिक युगमा दास बनाईएका मुलुकका नागरिकहरुले पनि भोग्नु परेको थिएन। दुखको कुरा त यो छ कि नेपाल र नेपालीको यो हविगत बनाउने सात राजनैतिक दल र तिनका कृपापात्रहरु कानूनी रुपले विदेशी हैनन। यो श्वेतपत्र गठबन्धनले मुलुकको वेहाल भएको स्विकारेको साविती बयान हो। गजव त के छ भने श्वेतपत्र अनुसार यस्तो हुनुको कारण न गत बैसाखको भुईचालो हो, न अन्य कावु वाहिरको परिस्थिति नै।
'परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु ' भनेर राजाले छोडेका थिए। त्यस पछि गठवन्धन पक्षधरहरुले निरन्तर उनी र उनको पक्षलाई 'प्रतिगमनकारी' भनि नै रहे। विस्तारै शुरुमा उनीतिर देखिएका जस्ता लाग्नेहरु पनि गठवन्धन पक्ष रिझाउन लागे। प्रतिनिधिसभा पुनस्थापित गरेदेखि हालसम्म उनी र उनको पक्षले गठवन्धनलाई बाधा दिने काम गरेको कुनै घटना भेटिएको छैन। त्यसैले यो श्वेतपत्रमा लेखिएको परिस्थिति ल्याउनमा गठबन्धन इतरको कुनै भूमिका छैन। तराई मधेशको आन्दोलनको कारणले यो खराव परिस्थिति आएको भनिएको छ त्यसको नेतृत्व नै यो दश बर्षमा गठवन्धनका सहयात्री हुन। सहयात्री मात्र हैनन सत्ता संचालनमा महत्वपूर्ण भूमिका लिएर निरन्तर बसेका पनि हुन। त्यसैले श्वेतपत्र निकाल्नु पर्ने गरेर खराव हाल हुनमा केवल सात राजनैतिक दलको गठवन्धन भनेकाहरु र तिनीहरुको पक्षधर नै एकमात्र कारण हुन।
श्वेतपत्रमा उल्लेखित राजनैतिक समाधान भनेको यस अवधिमा आविष्कार भएर अत्यन्त प्रयोग भएको 'भागवण्डा' नै हो भन्ने कुरा बुझ्न कुनै कठिन छैन। त्यसैले आरोपित आन्दोलनका हर्ताकर्ता हिजो पनि गठवन्धनका साझेदार थिए, भोली पनि रहने प्रवल संभावना छ। जनतालाई गलाएर, थकाएर जसरी भए पनि आफुमात्र हौं विकल्प छैन भन्ने भ्रम छरिदैछ। यो भ्रम कायम राख्न सकेमा अझ मनपर्दी गर्न पाईन्छ भन्ने सोचले काम गरेको हुनसक्छ। राजनैतिक विकल्पको रुपमा आफुलाई उभ्याउन प्रयत्न गरिरहेका कमल थापाको दललेे गठवन्धनसँग आत्मसमर्पण गरिसकेको छ। यो अझ आफु निर्विकल्प भएको भनेर निरंकुश हुन प्रेरित गर्ने अवस्था हो।
वीपीको राजनीति भए विकास आफै हुन्छ भन्ने अवधारणाले पनि करिव तीसबर्ष नै समय पायो। राजा महेन्द्रको विकासको निमित्त राजनीति हैन ठोस कार्यक्रम र लगन चाहिन्छ भन्ने अवधारणाले पाएको समय भने ११ बर्ष १ महिना र १६ दिन मात्र हो। पुरा पञ्चायतको तीसबर्ष यो अवधारणामा काम भएन, राजा विरेन्द्रले वीपीको अवधारणा पछ्याएर 'विकासको निमित्त राजनीति' भन्ने नारा दिए। त्यसैले राजनीतिले विकास गर्छ , मुलुकको उन्नती गर्छ भन्ने अवधारणाले प्रयाप्त समय मात्र पाएन अनेकौ राजनैतिक अभ्यास पनि पायो। राजा वीरेन्द्रको सकृय राजनीति, त्यसपछिको संवैधानिक राजसंस्था र बहुदल अनि वर्तमानमा दशबर्षे गणतन्त्र।
हरेक अवस्थामा अहिले सात राजनैतिक दलको गठवन्धन भनिने राजनैतिक शक्तिहरु असफल नै भएका हुन। राजा महेन्द्रको ११ बर्षको आधारशिलाको प्रभावले स्वचालित काम गर्दा मुलुकको पतनको गति केही कम भएको मात्र हो। यो करिव बीस बर्षको बहुदल र दश बर्षको गणतन्त्रमा राजमार्गलाई लोकमार्ग भन्ने, पञ्चायतलाई विकास समिति र अहिले पालिका भन्ने जस्ता काम बाहेक केही देखिएको छैन। राज्यको पुर्नसंरचना, नयाँ राज्य प्रणाली भनेर जति भने पनि पुरानोको राम्रो पक्ष छोडेर बाँकी नराम्रो अपनाएको मात्र महशुस हुन्छ। त्यसैले मुलुक सम्हाल्ने हुति देखिएन त्यसैले राजालाई फिर्ता गरे हुन्छ। गरे हुन्छ मात्र हैन गर्नैपर्छ।