Advertisement Banner
Advertisement Banner

२० आइतबार, फाल्गुण २०८०11th December 2023, 11:01:09 am

Image

गल्ती सच्याउने बेला आएको छ

शाश्वत शर्मा

१६ मंगलबार , आश्विन २०८०५ महिना अगाडि

गल्ती सच्याउने बेला 
      आएको छ

पूर्वराजाका सहयोगी भन्छन्– भक्तपुरपछि ललितपुर र काठमाडौंमा देवदेवी दर्शनपछि जनतासँग अन्तरक्रिया हुँदैछ । भक्तपुरमा जनभीडले जुन प्रकारले जयजयकार गरेको देखियो, सुनियो, यो देख्दा आजभोलि नै ठूलो परिवर्तन हुँदैछ । यहीकारण गणतन्त्रवादी नेताहरूको सातो गयो । भक्तपुरका नेमकिपाका नेता नारायणमान बिजुक्छे पहिले नै पूर्वतिर लागेका थिए । कांग्रेसलगायतका सत्तावादीले मौनता साधे पनि प्रतिपक्षी एमाले अध्यक्ष ओलीले असह्य भएर ब्यङ्ग कसेको सुनियो । प्रदेशस्तरीय सभा र निर्वाचनमा ओलीको आदेशलाई पार्टी कार्यकर्ताले अस्वीकार गरिदिएका घटनाले पनि ओलीको साख गिर्दो छ भन्ने बुझ्न सकिन्छ । खासगरी कांग्रेसको मौनताले कांग्रेस र राजतन्त्रवादीको गठबन्धन हुनसक्ने आँकलन पनि गरिदैछ । राजतन्त्रका लागि कुनै नै कुनै दलको साथ जरूरी छ, त्यो सहयोग कांग्रेसले गर्नसक्छ । सभापति देउवा आफूलाई वीपीका सच्चा अनुयायी भन्छन्, वीपी सिद्धान्तमा देउवा लागे भने परिवर्तन सहज छ । वामको पछि लाग्दा पार्टीमा ठूलै आलोचना खेपिरहेका देउवा र उनकी श्रीमती आरजु देउवा गिर्दो छवि सुधार्नतिर लाग्न सक्छन् ।
माओवादी अध्यक्ष तथा प्रम प्रचण्डले आफ्नो चरित्रमा परिवर्तन देखाउन थालेकाले पनि कांग्रेसभित्र चिसो हावा चलेको छ । भारतमा बाबा कालेश्वर मन्दिरमा गेरूबस्त्र धारण गरेका कमरेड प्रचण्ड, पशुपतिनाथमा मन्त्रिपरिषदका सबै सदस्य सहित दर्शन गर्न पुगेका थिए भने चीन भ्रमणका क्रममा कैलाश मानसरोवरको भ्रमण र दर्शन गर्न पनि भ्याएर फर्केका छन् । परिवर्तनका संकेतहरू अनेक छन् ।
हुन पनि परिवर्तन र ०७२ को संविधानले नेपाल र छिमेकी कसैलाई पनि सन्तुष्ट पार्न सकेको छैन । छिमेकी र सहयोगी राष्ट्रहरूको उल्टै बदनाम गरिदिए । सन्तुलित परराष्ट्रनीतिलाई व्यवहारमा उतार्न सकेनन् । पैसा र स्वार्थसिद्धिका लागि जोसुकैसँग जेसुकै गर्न तमतैयार भएको चरित्र देखाए । जनतामा प्रत्येक दिन असन्तुष्टि बढ्दो रूपमा देखियो । मित्रराष्ट्रहरू सहयोग दिंदा झन बढी बदनाम हुने डरमा छन् । नेतृत्वको असफलताकै कारण पूर्वराजाको पूर्व, पश्चिम, राजधानीमै पनि नागरिक समर्थन बढ्दै गएको छ । भन्नैपर्छ नेपाल अर्को परिवर्तनको संघारमा छ ।
सडकमा देखिएका शिक्षक, कर्मचारीको आन्दोलनलाई निस्तेज पार्न सफलता हासिल गरे पनि सत्ताधारी र गणतन्त्रका हिमायतीले पूर्वराजाको बढ्दो लोकप्रियतालाई कम पार्न सक्ने स्थिति नै छैन । यहाँसम्म कि सेनाले राष्ट्रपतिलाई राजीनामा दिन सुझाएको चर्चासमेत व्यापक छ भने धेरैले दशैंको आसपासमै परिवर्तन हुनसक्ने बताउँछन् । आश्चर्य छ, हामी नै गणतन्त्रका भाग्यविधाता हौं भन्ने दल र नेताहरू आफ्नै अस्तित्व रक्षाका लागि लडार्इं गरिरहेका देखिन्छन् । नागरिकता ऐन र अपराधीलाई आममाफी दिएका राष्ट्रपतिको बाँकी रहेको सम्मान धुलिसात भइसकेको छ । सत्ताधारी र विपक्षीको हैसियता पातलिदै गएको स्थितिमा जनता विद्रोहमा सडकमा निस्केका र पूर्वराजाको जयजयकार गर्न थालेकोबाट अवस्था बुझ्न सकिन्छ ।
राजनीतिक नेतृत्व असफल हुँदै गएको र नेपाल भूराजनीतिको गोलचक्करमा फस्दै गएको देख्नेहरूले यस्तो नेतृत्वलाई धाप दिन तत्पर देखिदैन । आफैले माग्ने अनि विदेशीले दिएको परियोजनालाई लिएर दाताको घनघोर बिरोध गराउने तत्वहरूलाई पश्चिमा, दक्षिण र उत्तरका क्षिमेकीले राम्रैसँग चिनिसकेका छन् । नेपालमा ८ सय ८४ भन्दा बढी राजाहरूको भ्रष्ट चरित्र, राजनीतिका नाममा चम्काएको अपराधिकरण देखेका स्वदेशी विदेशीहरू यसरी नेपालको उन्नति हुननसक्ने ठहरमा पुगेका छन् । शरणार्थीका नाममा समेत नागरिक बेच्ने, सुनतस्कर, भूमाफियासम्मको गिरोह गणतन्त्रका सञ्चालक बनेका छन् । यिनले प्रजातान्त्रिक मर्यादा र विधिको शासन स्थापित गर्न नसक्ने निश्चित भइसक्यो । धार्मिक द्वन्द्वमात्र होइन फ्रि तिब्बतलाई मलजल गरेर पनि यिनले देशघात गरेका छन् । यस्ता तत्वको हातमा देशलाई छाडिराख्नु भनेको नेपालको अस्तित्व समाप्त पार्नु हो । यी सबै वस्तुस्थिति हेर्ने, बुझ्नेहरूको निष्कर्ष छ– अभिभावकीय संस्था चाहिने रहेछ । सबैलाई समेट्ने संस्थाले नै नेपाल र नेपालीको हित गर्न सक्षम हुनेछ । नेपाल बचाउन र विदेशीको चासोलाई समेत संवोधन गर्न जनताले राजाको जयजयकार गरेका हुन् । सत्य यही हो ।