Advertisement Banner
Advertisement Banner

१४ सोमबार, जेठ २०८१17th April 2024, 11:33:48 am

Image

महिला मैत्री कि पुरूष सताउने कानुन ?

बैकुण्ठ भण्डारी

२२ बुधबार , कार्तिक २०८०७ महिना अगाडि

महिला मैत्री कि पुरूष सताउने कानुन ?

लाइनलाइन फोन, हाते वा भित्ते घडी, रेडियोमात्र होइन, टीभीको महत्वसमेत घटेर गएको छ । सबैका हातमा मोवाइल छ, सबैकुरा मोवाइलमै भेटिन्छ ।
टेलिफोनको घण्टी जति बजोस् न । महत्व मोवाइलको छ । मोवाइलको घण्टी बज्यो, मोवाईल फोन अलि परै छ । आजकले यो इन्टनेटको प्रयोगले गर्दा लाईनवाला फोन भित्तामा सजिएर बसेको छ । विचरा कहिल्यै बज्दैन आजकल । वैठक कोठाको दक्षिण कुनामा रहेको सानो टेवलमा हल्का रंग खुईलिएको टेलिफोन सेटतिर आँखा घुमाउँछन् पञ्चरत्न ।
हो, मोवाईलमा जति नै घण्टी बजे पनि पञ्चरत्नको आँखा सवै भन्दा पहिले त त्यही खुइलिएको टेलिफोनमा पर्ने गर्छ । अनि मात्र मोवाईलमा । सेतै कपाल फुलेका पञ्चरत्न पावरवाला चश्मा टेवलबाट तानेर आँखालाई अलि प्रष्ट बनाउन खोज्छन् । चश्मा लगाएपछि अघि देखि घण्टी बजेको मोवाईल फोनको ‘भाइवर’  आएको नाम नियाल्दै चोरी औंला घिसार्दै फोन ‘रिसिभ’ गर्छन् । 
हेलो, हेलो ! को बोलेको ?
उताबाट आवाज आउँछ । बा ऽ ढोग गरे । के छ तपाईको स्वास्थ्य ? अलि घिर्रघिर्र गर्दै ठिकै छ बाबु । आफ्नै घरमा परदेशी जस्तै भईएको छ । के हुनु बरू यो सास गए पनि ठिकै हुन्थ्यो । 
छोरोले उताबाट फेरि सोध्छ ? अनि आमाको हालखबर के छ नि ? 
के हुनु विहान उठेदेखि पूजा पाठ, धर्मकर्म उही त हो नि । त्यसले जति नै धर्मकर्म गरे पनि भाग्य खोटै रहेछ । यो बुढेसकालमा बाउ बाजेले समेत नभोगेको कर्म गर्नु परेको छ । अनि तेरो के छ ? 
छोरोले लामो श्वास फे¥यो, उही त हो नि बा । कार्यालयको काम गर्न पाएको छैन । मनमा अनेक कुरा खेल्छन्, बुढा आमासँग बस्न पाइएन । सेवा गर्न पाइएन । मानसिक रूपमा केही गर्न सकिँदो रहेनछ ? म त यति नालायक छु जस्तो लाग्न थाल्यो कि खै के भनौं ।
के गर्छस् त ? हामीले पनि यस्तो हुन्छ होला भन्ने सोचेका थिएनौं । तँलाई पढायौं लेखायौं । डाक्टर बनायौं सवैको सल्लाहमा विहे पनि गरायौं । तर खै कुन जुनीको पाप लाग्यो हो ! सोच्दै नसोचेको पनि हुँदो रहेछ । हामी बुढा बुढीलाई कुन बेला सिध्याइदिने हो अत्तो पत्तो छैन । पुर्खाले छाडेको माटोमा आफ्नै पसिनाले बनाएको घरमा डरैडरमा भएर बस्नु परेको छ । 
छोरा, तैले पनि छाडेर गएसी हाम्रो त सास पनि अड्किरहन्छ कुन बेला के हुन्छ खै ? पञ्चरत्नको कुरा सुनेर छोरो भन्छ, के गरौं त भन्नुस् । म फर्केर आउँ त घरमै ? 
भैगो भैगो नआइजो, तँलाई देखेपछि झन् के भूत चढ्ने हो लुछेरै मार्छे । श्रीमती हुनु पर्ने कुमती परेपछि कसको के लाग्दो रहेछ र ? धन र सम्पत्तिका लागि आफ्नै लोग्नेलाई नछाड्नेले अरूलाई के वाँकी राख्ला र ? हामीलाई त के के वात लाग्या छ लाग्या छ । यो बुढेसकालमा हरेक दिन पुलिसको दैला हाजिर गर्ने जागिर पो भाको छ त ? धाउँदा धाउँदै बाटैमा गईएला जस्तो । 
सर्पलाई जति नै दूध पिलाएपनि आखिर विष नै ओकल्ने रैछ त ? भैगो छाड्दिऊ यस्ता कुरा । यही कुराले अस्ति तेरी आमा झण्डै गईसकेकी थि । धन्न समयमा नै अस्पताल पु¥याउन पाकाले भगवान्ले बचाए । 
पञ्चरत्नका बाबु छोराको फोनवार्ता एउटा प्रतिनिधि घटनामात्र हो । यस्ता घटना घरघरमा छन् ।
अहिले नेपालका धेरै परिवारमा यस्तै समस्या विकराल हुँदै गईरहेको छ । पितृसत्तात्मक व्यवस्था भनिएको नेपालका परिवार भित्र पितृसत्ता त च्यापिएको छ नै । त्यसले पितृ हुन लागेका बृद्धहरूलाई दैनिक जसो रूवाईरहेको छ । सताइरहेको छ ।
पढेलेखका केही बुहारी स्वतन्त्रता नाममा गरेका कुकृत्यका कारण पञ्चरत्न जस्ता पात्रहरूलाई आफ्नै जन्ममूमि र जन्मघर नै पराई जस्तो भएको छ । पञ्चरत्नको सानो र सुखी परिवार दुई छोरी एक छोरा सवै उच्च शिक्षा हासिल गरेका त्यो पनि विदेशबाट । पढेलेखेका छोरीहरूलाई परम्परागत रूपमा नै अन्माएर पठाएका पञ्चरत्नका बाबु बाजे कोही पनि अहिलेसम्म पुलिस अड्डा जानु परेको थिएन । तर पञ्चरत्नको परिवारमा जव डाक्टर छोराको धुमधामसँग विहे गरेर बुहारी भित्र्याए त्यसपछि शुरू भयो पञ्चरत्नको दुःखका दिन । 
तीन विस र दश नाघेका पञ्चरत्नको घरमा खुशी त्यही दिनबाट सकियो जुन दिन बुहारी भित्रन नपाउँदै पितृसमानका सासु ससुरालाई घर निकाल्ने कुचेष्टा गरिन् । आपूm पनि पढेलेखेको बुहारी भएर नपढेका सासु ससुरालाई बुझाउने त कता हो कता । उल्टै डिङ्ग हाँक्न थालिन् । पञ्चरत्न एक मात्र छोरा जसले विहेको भोलीपल्टै पञ्चरात फर्काउन नपाउँदै श्रीमती झापड भेटे । धुमधाम गरी परम्परा धानेरै भित्र्याएको भोली पल्टै डाक्टर छोरामाथि बुहारीको स्वतन्त्रताले छापा मार्न थाल्यो । झाप्पु भेट्न थाल्यो ।
एउटै पलङ्गमा पल्टिएर पति भन्दा प्रेमिकासँग मस्किन पाउनु पर्ने पश्चिमाहरूको शैली बुहारीका लागि स्वतन्त्रता थियो । त्यही स्वतन्त्रता नपाउँदा आज पञ्चरत्न पुलिस अड्डा धाउनु परेको छ अनि छोरो बुहारीकै कारण घरमा बस्न नसक्ने गरी बाहिरिएको छ । यो नारी स्वतन्त्रता रे ?
सायद पञ्चरत्नको ७० वर्षे सेतै भएका आँखी भौसमेत भिज्ने गरी झरेका अाँसुले पितृसत्तात्मक भन्ने व्यवस्थालाई जिस्काएको छ । नेपालको कानूनले दिएको अधिकारको दुरूपयोग गर्दै महिला अधिकारकर्मीले पुरूषको बेदनामाथि पौडी खेलिरहेका छन् । 
चाहे विदेशमा रगत पसिना बगाएर कमाएको रकम यता श्रीमतीले चौपट्ट पारेको घटना होस् वा विहे गरेको केही दिनमै सम्वन्ध विच्छेद गरेर अंश माग गर्ने बढ्दो घटना नै किन नहोस् । नेपाली समाज कुन मोडतिर लम्किरहेको छ । सामाजिक मूल्य मान्यताहरू कतातिर रूमल्लिरहेको छ भन्ने प्रश्न आजकल उब्जिन थालेको छ । 
७० वर्षको उमेर घरबाट बाहिरिनु पर्ने अवस्था पञ्चरत्नको जीवनमा आउनु पर्ने हो ? विहे गरेको भोलीपल्टै अर्थात एकै रातमा प्रताडित भएर डाक्टर पढेको छोरो घर छाडेर पलायन हुनु पर्ने अवस्था हो ? त्यसो भए डाँडामाथिको घाम जस्तै पञ्चरत्नहरू माथि न्याय कसले दिने त ? 
पञ्चरत्न जस्ता बुढाहरूको अधिकार सुरक्षित कसले गरिदिने ? प्रजातान्त्रिक स्वतन्त्रता खोज्ने सामाजिक मूल्य र मान्यतालाई तिलाञ्जली दिएर पञ्चरत्नहरूमाथि धावा बोल्ने बुहारी जस्ता पात्रहरू कै दवदवा बढ्ने हो र ? महिला होस् या पुरूष, सासु हुन् या बुहारी, धनी होस् या गरिव ? जस्तो सुकै होस् । न्याय नमरोस् । न्याय नखोसियोस् । पीडितले न्याय पाओस् । पितृसत्तात्मक व्यवस्थाको डिङ्ग हाँकेर त्यही पितृहरू माथि अन्याय नहोस् । पञ्चरत्नले जस्तो ७० वर्षको उमेरमा विना कारण पुलिस अड्डा खेप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्छ ।