Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

बिक्रीमा छ, बिक्रीमा

बैकुण्ठ भण्डारी

१२ मंगलबार , मंसिर २०८०८ महिना अगाडि

बिक्रीमा छ, बिक्रीमा

bhandaribai@gmail.com
पर्वहरू दशैं सकियो, तिहार सकियो, छठ पनि सकियो तर ऋण तिर्न नसकेरै एक अधबैशे पुरूष सडकमा बिक्रीमा भनेर कराउँदै छ । वरिपरि झुम्मिने तमासेको कमी छैन ।  कोही कठैवरा भन्दै आफ्नो बाटो लाग्नेहरू पनि छन् । तर अधवैशे कराउन छाडेको छैन । सरकार म बेच्छु, मलाई रोक्न नखोज ! झुस्स दाह्री पालेको, कपालमा धुलै धुलो जस्तो देखिएको, मैलो मैलो कपडा लगाएको भर्खरै जुवा खालबाट हारेर फर्किएको जस्तो । भर्खरै सत्ताबाट गलहत्याएर निकालिएको जस्तो ! कस्तो कस्तो ?
विक्री विक्रीमा भनेर कराइरहेको थियो । तर के विक्रीमा भन्ने कुरा उसले मुखले बोलिरहेको थिएन । सायद सडकमा चटकेले चटक देखाउन पो खोज्यो कि भन्ठानेरै होला वरपर उभिएकाहरूले खासै चासो पनि दिएनन् । 
त्यो अधवैंशे कराउँथ्यो उसको वरपर एक्कै छिन् मान्छे झुम्म पर्दथे अनि जान्थे उ एक्लै कराउँथ्यो । ‘धत्, कोही छैन । कसैको आँट नै छैन जस्तो छ किन्नलाई’ । ए बाबा म जसरी बेच्ने हो भने पनि आवश्यक परेकाले किने भैगो नि, दिने मै हुँ । ऊ कराउँदै थियो ।
अधवैशेको बोलाई निकै कष्टकर थियो । कुनै ठूलो विपद्मा परेर सहारा खोजिरहेको जस्तो । तर उसलाई सहारा दिने खोज्ने कोही पनि छैन । उ निकै कमजोर अनुभूति गरिरहेको छ । खोक्दै थियो, कराउँदै थियो । यो मारोगी खोकीले पनि कस्तो सताउँछ हो । फोक्सै जालाजस्तो । लामो सास फेरेर फेरि कराउँछ । ‘कोही छ मेरो किन्ने ? विक्री भईसकेको पनि मलाई च्याप्पै समातेर तानेर ल्यायो । बेच्नै दिएनन् त्यो बेला ।
उसको कुरा सुनेर उसको कुरा सुनिरहेका अर्को व्यक्तिले  अधवैंशेलाई सोध्छन्, ‘होइन तपाईँले अघिदेखि विक्रीमा विक्रीमा भन्नु भएको छ । खास विक्री चाहिँ के हो ? तपाईसँग विक्री गर्ने बस्तु के छ ?’
त्यो अधवैशे बोल्दैन । आफू पछाडि टाँसेको सूचना देखाउँछ । सूचनामा लेखिएको छ । ‘मेरो किड्नी विक्रीमा छ । कसैलाई चाहिए सम्पर्क गर्नु । व्यवहार चलाउन गाहो भएकाले किड्नी बेच्न खोजेको । नेपाल सरकारसँग अनुरोध मलाई पटक पटक रोक्यौं अव मलाई मेरो किड्नी वेच्न नरोक्नु !’
सडकको भित्तामा सेतो फोटोकपी पेपरमा सूचना लेखेर टाँसिएको छ । सडकमा प्राय जागिर, तालिम, अवसर यस्तै यस्तै लेखिएका सूचना देखिन्थे तर यो सूचना भने अलि फरक थियो । अचम्म । 
ती व्यक्तिले अधबैंशेलाई भन्छन्, ‘यस्तो नचाहिने कुरा पनि विक्री हुन्छ ?’ त्यसमाथि पनि सडकमा बसेर । अधबैंशेले जवाफ दिन्छ । के नचाहिने कुरा । ‘यही किड्नी नपाएर मान्छेले अकालमा ज्यान गुमाउनु परेको छ । कम्तिमा मर्न लागेको मान्छेलाई मैले बचाउँछु र म आफू पनि आनन्दले बाँच्न सक्छु भनेर किड्नी बेच्न राखेको हुँ ।’ 
त्यो व्यक्तिले सडकमा बसेर किड्नी बेच्छु भन्ने अधवैंशेलाई  भन्छन्, हेर्नुस् तपाईले जे गर्दै हुनुहुन्छ । त्यो गैरकानूनी हो नि ? किड्नी भनेको त बेच्न पाइने कुरै होइन । तपाई त खुल्लम खुल्ला सडकमा बसेर भित्तामा सूचनै टाँसेर बस्नु भएको छ । 
छाड्दिनुस् यस्तो कुरा, नेपालको कानून जसले बनाउँछ उसैले जानुन भन्ने सुन्न भाको छैन । कानून ऐन भनेको त सानाका लागि मात्र हो । ठूलाले देशै बेच्छु भन्दा हुने मैले मेरो भाको किड्नी बेचेर आफ्नो व्यवहार चलाउँछु भन्न नपाउने ? अस्ति उता पूर्वतिर मान्छे मार्न पाउनु पर्दछ । खुकुरीले काट भन्दै सार्वजनिक भाषण गरेको सुन्नुभएन ? सिंहदरबार जलाउँछु भन्न पाउने ! मैले मेरो शरीरको किड्नी बेच्छु भन्न नपाउने ?
ती अधवैंशेको कुरा सुनेर ती व्यक्ति तीन छक्क पर्छन् । अनि फेरि सोध्छन्, ‘होइन तपाईलाई किड्नी नै चाँही किन बेच्नु पर्यो ?’ अधवैशेले जवाफ दिइहाल्छ । हेर्नुस् अव मसँग भएको बेच्न मिल्ने र अरूलाई पनि काम लाग्ने भनेको यही एउटा किड्नी मात्र छ । त्यही भएर यही बेच्न बाटोमा बसेर कराईरहेको छु । 
शरीरको अंग नै बेच्न खोज्नु भो नि ? 
तपाईलाई सुनाएर के काम ? किन्ने भए, तपाईको कसैलाई आवश्यक छ भने मेरो किड्नी किन्नुस् नभएर मसँग अरू कुरा नगर्नुस् । अधवैंशे अलि झोक्किन्छन् । 
व्यक्तिले अझै कुरा खोतल्न थाले, त्यसो भए कसरी किन्ने त तपाईँ किड्नी ? 
अधवैंशेले भन्यो किन्छु मात्र भन्नुस् न अरू सवै म आफै व्यवस्था गरिहाल्छु । ‘त्यसो भए किड्नीको कति पैसा ? !
अधवैशेंले भन्यो, ‘जम्मा १४ हजार ५०० भए म मेरो किड्नी बेच्छु ।’ यति सस्तो ? ती व्यक्तिले फेरि सोधे । फेरि प्रश्न गरे । उसले जवाफ दियो, ‘ऋण तिर्न’ । 
ऋण तिर्न किड्नी नै किन बेच्नु त ? 
के गर्नु त ? अव मेरो अरू कुनै उपाय नै छैन । ऋण लिएर छ महिना अघि कुवेत गएकी श्रीमतीसँग बोल चाल नै वन्द भो । दुई छोराहरू स्कूल जान नसकेर घर छाडेर हिँडे । लघुवित्त सहकारीले अलिकति भएको जग्गा खाईदियो । आफै गरिखानका लागि गाडी चलाउने लाईसेन्स थियो ।  गाडी किने त्यो पनि वैकले व्याज व्याज तिरेन भने खाई दियो । छिमेकीलाई साक्षी राखेर सहकारीबाट फेरि व्यवसाय गरौं भनेर ऋण लिए त्यो पनि अर्को सहकारीले खेलाई दियो । ऋण तिर्न किड्नी बेच्न  खोज्दैछु ।