ज्ञान, भक्ति र सेवा गीताको निचोड
सकिदैन उठ्न नलिए जीवनले मोड
मोह एउटा उल्झन हो बझ्नुपर्छ सबले
गर्नुपर्छ श्रद्धा र प्रेमले अंहकारको फोड ।
कस्तो सिकायो यो मनले हाँसेर रून सधैं
किन जिस्काउँछ धनले हासेर रून सधैं
भो चाहिदैन खोलाले बगाउने पापी धन
बरू साथ दिदैछ तनले हासेर रून सधैं ।
हर उल्झनका हलमा कमिला
तर छैन कुनै छलमा कमिला ।
किन मानिस बन्छ निरीह स्वयम्
अति कर्मठ छन् बलमा कमिला ।
तिम्रो मायाँको के अर्थ अँधेरी रातमा जिएन भने
तिम्रो त्यागको के अर्थ अधरको आँसु पिएन भने
शरीरको नाता गाँस्दैमा कहाँ भयो आफन्त त्यो,
बेर्थ नाताको के काम घायलमा मुटु सिएन भने ।
यदि तिम्रो भावनामा चोट पु¥याएको भए
बिना कसुर आफ्नु शिर नझुकाएको भए
आज जिन्दगीले अर्कै मोड लिन्थ्यो होला
तिम्रा निम्ति हजारौं रिस्ता नगुमाएको भए ।
पिडामा छु बेदनाको हुरी बोकी आए हुन्छ
भाला तरवार र खुकुरी बोकी आए हुन्छ
बास बस्न मुटु दिँए, आगो झोसी गयौ अब,
थापिदिन्छु गलो रेट्न छुरी बोकी आए हुन्छ ।
कतै रमाईलो छ जिन्दगी कतै अर्थ हिन छ
संघर्ष धेरै गर्दा गर्दै पनि ठेगाना बिहिन छ
चल्न त चलिरहेको हुन्छु सधैं आफ्नै धुनमा
बाहिर फिक्का मुस्कानभित्र दुखको रिनैरिन छ
बसन्तका फूल, पातहरुले सताउदा
सधै गुनगुनाउने बातहरुले सताउदा
किन होला जोडले ढुक्ढुकिन्छ मुटु
अनिदा काला रातहरुले सताउदा ।
भन्ने मानिदिए कति बेस हुन्थ्यो
मनले जानिदिए कति बेस हुन्थ्यो
हुन्थ्यो बेस मनसित मन मिल्ने भए,
आफ्नो ठानिदिए कति बेस हुन्थ्यो ।
आफ्नै नियति–गङ्गामा बग्ने म नित्य छाल हुँ
गैरो चिन्तनको नौलो अभिशप्त म ताल हुँ
हुँ रूप राजनीतिको यद्वा दर्शनको कुनै
चुनावी मञ्चमा खुल्ने सत्ताको भ्रम–जाल हुँ ।
हरेक महिना मन्त्रीमण्डल थपघट हुन्छ
सिंहदरबारमा बुख्याँचाहरुको जमघट हुन्छ
आर्यघाटको तारतम्य मिलाउँदा मिलाउँदै
पाँचबर्षमा सरकार अठारपल्ट थपघट हुन्छ ।
यो समय सबैभन्दा भ्रष्ट सावित भयो
यो समय सबैभन्दा असक्षम सावित भयो
इतिहासमै कलङ्कको कालो टिका लगायौ सरकार
यो समय सबैभन्दा नालायक सावित भयो ।
प्रकृति स्वयं मासिएको हेर्न कति लाचार छ ऊ
हतासिदै बतास प्रदूषण खेप्न कति लाचार छ ऊ
लाचार छ सधंैसधैं बेमौसमी मेघ गर्जन र बर्सन
कृष्णभीर जसरी ओइरिन कति लाचार छ ऊ ।
जनतालाई दुई छाक, टार्न गारो भयो
अधुरा सपना साकार, पार्न गारो भयो
कहीँ कतै समस्याको समाधान भेटिदैन
विनासकारी दुष्ट कीरा, मार्न गारो भयो ।
–लक्ष्मी मुडवरी पण्डित
रातको जस्तै अँध्यारो दिनको कहानी भएको छ
महामारीजस्तै अर्को प्रलयको कहानी भएको छ
नाना थरिका प्राकृतिक आपत विपदमा पनि हाँसेर
मान्छेको सहारा भगवान, नयाँ कहानी भएको छ
– ओमकुमारी रानाभाट
हर मोडमा कति जीवन बाँधिएको देख्छु यहाँ
मानिसहरु त्यसै–त्यसै आत्तिएको देख्छु यहाँ
स्वार्थीपनमा मान्छेको मन साटिन थालेपछि
बिना अर्थ साटेको मन भाँचिएको देख्छु यहाँ ।
– पौडेल रुपा
कुरा गर्दा सर्वस्व जाला जस्तो भए पनि
पराईले सर्लक्कै खाला जस्तो भए पनि
सहयोग बिना त जीवन चल्न कठिन हुन्छ
मिलेरै बस्नुपर्छ अरुको चाला जस्तो भए पनि
भाइ भन्छ फकाउन काकालाई पनि
हात लिन्छ भाइमार्न डाँकालाई पनि
मोटाउँदैमा आफ्नै छोरो बाउ हुन्न बुझ
नदी तर्न कागजको नाउ हुन्न बुझ ।
– जीविका अश्रु, सिक्किम
बन्द छन् बजारका पसलहरु, बन्द हुने भो गाँस पनि
तहसनहसको सम्भावनासँगै, असुरक्षित भो बास पनि
उपाय बिहिन हुँदैछ अवस्था, समस्यै समस्या थुप्रिएर
अब त लाग्दैछ बचेखुचेको, हराउने भो आस पनि ।
– रवि श्रेष्ठ, अर्घाखा“ची
मलाई आज आफ्नैं धूनमा बाँच्न मन छ,
रुमलिएका सपनाहरूलाई साँच्न मन छ
दुनियाँले कतिबेला पाउलो फेर्छ थाहा छैन,
आफूलाई पूरा हृदय खोली हाँस्न मन छ ।
आफ्नो अस्मिता बेचेर मान्छे नाम कमाउँछ
आफूलाई नै बेचेर मान्छे दाम कमाउँछ
कस्तो रहर हो अग्लो हुन आफ्नो कद सानो बनाउँछ
आफूलाई नै लिलाम गरेर मान्छे भ्रमको उचाई कमाउँछ
– राधेश्याम लेकाली, काठमाडौं